सरकारको दोहोरो नीति : थानकोटमा बस, जगातीमा जाऊ !

७ वैशाख, काठमाडौं । पैदल हिँडेर सहरबाट गाउँ फर्कन चाहनेहरूलाई लिएर सरकार फेरि अलमलमा परेको छ । आइतबार थानकोट र भक्तपुरको जगातीमा देखिएका दुई फरक-फरक दृश्य सरकार अल्मलिएको प्रमाण हो ।

लकडाउनका बेला घर फर्कन चाहनेहरूलाई सहरमै रोक्ने कि गन्तव्यसम्म पुग्न दिने भन्नेबारे सरकार पटक-पटक अलमलमा पर्दै आइरहेको छ । आइतबार पनि राजधानीमा यस्तै दोधार देखियो ।

सरकारका दुई फरक व्यवहार हेरौँ-

जगातीमा मन्त्री र सीडीओले गाडी चढाए

भक्तपुरको जगातीमा आइतबार उर्जामन्त्री वर्षमान पुन, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी प्रमुखसमेत मिलेर रोल्पा, सल्यान र दाङ हिँडेका करिब ४ सय जनालाई बस चढाएर पठाइयो ।

सीडीओ पाण्डेका अनुसार विभिन्न जिल्लाबाट हिँडेर भक्तपुरसम्म आएका र जिल्लाभित्र अलपत्र परेकाहरुलाई बसमा चढाएर दाङ र रोल्पातिर पठाइएको हो ।

उनीहरुलाई विदा गर्न सिमसिम पानी परेका बेला उर्जामन्त्री पुन र प्रजिअ पाण्डे छाता ओढेर पुगेका थिए ।

स्थानीय प्रशासन, प्रदेश सरकार सबैको सहयोगमा घर पठाउन सम्भव भएको बताउँदै मन्त्री पुनले भने, ‘यो सरकारकै नीति हो कि अप्ठ्यारो परेका साथीहरुलाई उद्धार गर्ने । सकेसम्म फेरि आफ्नै ठाउँमा सुरक्षित बस्ने नै अहिलेको सरकारको नीति हो ।’

भक्तपुरबाट प्रदेश ५ तर्फ जाने मानिसहरुलाई गाडी चढाएपछि ऊर्जामन्त्री पुनले भने, खासगरी सीडीओ सा’प, एसपी सा’पहरु सबैको मेहनतले यो सम्भव भएको हो । यहाँहरुले अप्ठ्यारोमा परेका साथीहरुको उद्धार गर्नुभो । सीडीओसा’प, एसपी सा’प यहाँको प्रशासनलाई विशेष धन्यवाद दिन चाहन्छु । पत्रकार साथीहरु जसले हामीलाई जानकारी दिने, सेन्सेटाइज गर्ने काम गर्नुभो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

जगातीमा प्रहरीले मानिसहरुलाई रोकिराखेको सूचना पाएपछि त्यहाँ पुगेका मन्त्री पुनले छाता ओढेर भने, ‘म रोल्पा जिल्लाको जनप्रतिनिधि हुँ । सरकारले मलाई प्रदेश ५ को समन्वयनको जिम्मा पनि दिएको छ । रोल्पामात्रै होइन, दाङ, सबैतिरका अप्ठ्यारो पर्ने साथीहरुलाई हामी मैले समन्वय गरिराखेको छु । थप अब पनि समन्वय गरिन्छ ।’

मन्त्री पुनले थपे, ‘अहिले काठमाडौंतिर पनि काभ्रेतिरबाट भिजेर आउनुभएका साथीहरु हुनुहुन्छ, उहाँहरु पनि गइराख्नुभएको छ ।’

स्रोतका अनुसार भक्तपुरका ईंटा कारखानामा काम गर्ने रोल्पाली मजदुरहरुलाई एउटा गाडीमा चढाइएको छ । ललितपुरबाट दुईवटा गाडीमा चढाइएको छ भने काभ्रेतिरबाट मजदुरहरुलाई ६ वटा गाडीमा चढाएर प्रदेश ५ तर्फ पठाइएको छ ।

गाडी चढाइसकेपछि मन्त्री र सिडियोले चालकहरुलाई शुभयात्राको शैलीमा भने, ‘सुरक्षित रुपमा लानुहोला ।’

बसहरु अगाडि बढिसकेपछि मन्त्री पुनले वीचमा पर्ने जिल्लाका सुरक्षा प्रमुखहरुलाई टेलिफोन गरेर आफूले गाडीमा मान्छे पठाएको, उनीहरुलाई गन्तव्यतर्फ जान दिनू भन्ने निर्देशनसमेत दिएका थिए ।

थानकोटमा बेग्लै नीति

आइतबार थानकोटमा भक्तपुरको भन्दा भिन्न दृश्य देखियो ।

घर जान भनेर हिँडेकाहरुलाई थानकोटमा रोकियो । थानकोट आसपास कोठा भएकाहरुलाई कोठोतिरै फर्काइएको भने टाढा भएकालाई त्रिभुवनपार्कमा नै खाने-बस्ने व्यवस्था मिलाइयो ।

बालबच्चासहित घर हिँडेका १७६ जनालाई आइतबार राति त्रिभुवनपार्कमै राखिएको छ ।

चैत ११ देखि जारी लकडाउनका कारण समस्यामा परेपछि ज्याला मजदुरी गर्नेहरु गाउँ र्फकने क्रम अहिलेसम्म रोकिएको छैन । काठमाडौंमा भएकाहरु मात्र होइन, आसपासका जिल्लाहरुमा काम गर्नेहरु समेत हिँडेर बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा पुगेका छन् ।

लगातार हिँड्दा थाकेकाहरु उनीहरु सडकमै रात काट्छन्, भोकभोकै हिँड्छन् । त्यो दृश्य र कथा सञ्चार माध्यमहरुमा आएपछि सरकारको आलोचना हुँदै आइरहेको छ ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चैत २७ गते दुई दिनका लागि उपत्यकाबाट बाहिर जान दिने निर्णय पनि गरेको थियो । तर, डेढ घन्टामै निर्णय उल्टियो । त्यसपछि गाउँ फर्किनेहरु झन बढे ।

शुक्रबार यसबारे उच्चस्तरीय समन्वय समितिमा छलफल भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए । र, मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिन र खान नपाएको भए बसेकै स्थानमा खाद्यान्न पुर्‍याउन निर्देशन दिए । प्रधानमन्त्रीले लकडाउनलाई कडा बनाउन निर्देशन दिए ।

त्यसअनुसार शनिबारदेखि प्रहरीले गाउँ फर्किन लागेका पैदल यात्रुलाई ठाउँठाउँमा रोक्न थाल्यो ।

तर, शनिबार साँझ थानकोटमा रोकिएका करिव ३०० लाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरुको अगुवाइमा गाडी चढाएर घर पठाइयो ।

अघिल्लो दिन ३०० जनालाई गाडी चढाइएको त्यही थानकोटमा आइतबार भने कसैलाई जान नदिई रोक्ने काम गरियो ।

कन्फ्युजमै बसौं !

‘प्रधानमन्त्रीको निर्देशन’ भन्दै कतै रोक्ने, कतै  सांसद, मन्त्री र सीडीओले नै बस चढाएर पठाउने भइरहेको छ, सरकारको खास निर्णय चाहिँ के हो ? जवाफमा एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले निर्देशन दिनुभएको अस्ति नै बाहिर आइसक्यो, अर्को निर्णय भएको छैन ।’

तर, कतै रोक्ने र कतै जान दिने हुँदा कन्फ्युज भयो नि ? यो प्रश्नमा उनले भने, ‘अहिलेलाई कन्फ्युजमै बसौं ।’

ती मन्त्रीका अनुसार सरकारले निर्णय गर्दा पनि रोक्न नसक्ने भएपछि जान दिने पनि नभन्ने तर कोही पैदल हिँडेर जान खोज्छ भने निश्चित ठाउँहरुमा पुगेपछि उद्धार गरेर पठाउन खोजेको देखिन्छ ।

‘प्रधानमन्त्रीको निर्देशन र व्यवहारमा ग्याप छैन’

यसैवीच, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने प्रधानमन्त्रीको निर्देशन र व्यवहारमा ‘ग्याप’ नरहेको बताएका छन् ।

मन्त्री ज्ञवाली भन्छन्, ‘प्रधानमन्त्रीज्यूको भनाइ जो सडकमा निस्कनुभएको छ, उहाँहरुलाई एक ढंगले म्यानेज गरौं, वीचमा अलपत्र पर्न नदिऔं भन्ने हो । सडकमा नआएकाहरु जहाँ छन्, त्यहीँ बस्नुपर्छ भन्ने हो ।’

मन्त्री ज्ञवालीको जस्तै उर्जामन्त्री पुनले पनि वीचमा अप्ठ्यारो परेकाहरुलाई उद्धार गर्ने सरकारको नीति भएको बताए ।

‘सरकारले लकडाउन कडा गर्ने, जहाँ छन्, त्यहीँ नै राख्ने नीति लिएको थियो’ मन्त्री पुनले भने, ‘अहिले असाध्यै अप्ठ्यारो भएपछि, अप्ठ्यारोमा परेका साथीहरुलाई यहाँ बस्नै नसक्ने, काम पनि नहुने साथीहरुलाई पठाइराखेका छौं ।’

One thought on “सरकारको दोहोरो नीति : थानकोटमा बस, जगातीमा जाऊ !

  • April 28, 2020 at 3:46 am
    Permalink

    Hi, this is a comment.
    To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
    Commenter avatars come from Gravatar.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *